वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीसहित ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा साविक जितपुर गाविस तथा हाल जिराभवानी गाउँपालिका–३ निवासी ५० वर्षीय पारसनाथ दास थारू पनि रहेका छन्। उनलाई २०८३ कात्तिक १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, विभिन्न मुद्दामा अदालतबाट सजाय तथा फैसला भई फरार रहेका अन्य १० जनालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सबै ११ जना प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीका लागि अदालतमा बुझाइएको जानकारी दिएका छन्।


