रौतहट । रौतहटको परोहा नगरपालिकामा आर्थिक वर्ष २०८३/८४ को प्रथम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक गरिएको छ।

प्रभु बैंक लिमिटेडको परोहा शाखाले नगरपालिकाका नौवटै वडाका लाभग्राहीलाई भत्ता वितरण गर्न मिति निर्धारण गरेको हो। बैंकले जारी गरेको सूचनाअनुसार वडा नं. १ मा कात्तिक १० गतेदेखि सुरु हुने भत्ता वितरण कार्यक्रम वडा नं. ९ मा कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ।
तालिकाअनुसार वडा नं. १ मा कात्तिक १० गते, वडा नं. २ मा ११ गते, वडा नं. ३ मा १२ गते, वडा नं. ४ मा १३ गते, वडा नं. ५ मा १६ गते, वडा नं. ६ मा १७ गते, वडा नं. ७ मा १८ गते, वडा नं. ८ मा १९ गते र वडा नं. ९ मा २० गते भत्ता वितरण गरिनेछ।
भत्ता लिन आउँदा लाभग्राहीले नगरपालिकाबाट जारी गरिएको सक्कल भत्ता कार्ड, सक्कल नागरिकता, एक प्रति फोटोको प्रतिलिपि तथा बैंकबाट जारी गरिएको चेकबुक अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बैंकले जनाएको छ।बैंकले सहज र व्यवस्थित रूपमा भत्ता वितरण गर्न सम्बन्धित वडाका लाभग्राहीलाई तोकिएको मिति र समयमा उपस्थित हुन आग्रह गरेको छ। 


