Lucky-Khabar_

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । सम्भावित चक्रवात ‘अर्नब’ को प्रभावले भारी वर्षा, हावाहुरी र बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

content ad p2

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको छ। यसको प्रभाव कात्तिक ११ गते बुधबारदेखि नेपालको भूभागमा पर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

विशेषगरी कात्तिक १२ गते बिहीबार रातिदेखि कात्तिक १४ गते शनिबारसम्म मधेश प्रदेशलगायतका क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रशासनले सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न कात्तिक १२ गते बिहीबार, १३ गते शुक्रबार र १४ गते शनिबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पाकेको धानबाली काट्ने, झार्ने तथा भित्र्याउने काम कात्तिक १२ गते बिहीबारअघि नै गरिसक्न र मौसम प्रतिकूल भए कृषि कार्य स्थगित गर्न अनुरोध गरिएको छ।

सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुपरे मौसमको अवस्था बुझेर मात्र निस्कन प्रशासनले आग्रह गरेको छ। खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र बाढी, पहिरो तथा डुबानको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको नम्बर ११५५, विपद्मा सहयोगका लागि ११४९, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। साथै, मौसम विभाग तथा सम्बन्धित निकायबाट जारी हुने पूर्वानुमान र चेतावनी नियमित रूपमा अवलोकन गर्न पनि अनुरोध गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर