लन्डन । बेलायतकी मुस्लिम महिला प्रहरी अधिकारी फियोना शाइक उमरमाथि जातीय, धार्मिक तथा लैङ्गिक दुर्व्यवहार भएको छ। महिला प्रहरीको प्रतिनिधित्व र समावेशिता बढाउन योगदान पुर्याएको भन्दै सम्मानित भएपछि उनी अनलाइन घृणाको निशानामा परेकी हुन्।

मेट्रोपोलिटन प्रहरीका आयुक्त सर मार्क राउलीले उमरमाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालमा उमरलाई लक्षित गर्दै घृणित टिप्पणी गरिएका छन्। त्यसमध्ये कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बनाइएको एउटा तस्बिरमा उनलाई आत्मघाती बमसहित देखाइएको थियो।
बुधबार आयोजित प्रहरी महासंघको वार्षिक सम्मेलनमा उमरलाई ‘प्रहरी सेवामा महिलाका लागि उत्कृष्ट योगदान’ पुरस्कार प्रदान गरिएको थियो। महिला प्रहरीको प्रतिनिधित्व बढाउन र महिला अधिकारीहरूलाई सहयोग गर्न उनले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
सम्मानपछि अनलाइन दुर्व्यवहार
बीबीसी रेडियो ४ को ‘पीएम’ कार्यक्रममा बोल्दै प्रहरी आयुक्त राउलीले पुरस्कारसम्बन्धी सकारात्मक समाचार सार्वजनिक भएपछि अनलाइनमा जातीय, इस्लामविरोधी र महिलाविरोधी दुर्व्यवहार सुरु भएको बताए।
उनले सार्वजनिक सेवामा काम गर्ने महिला तथा अल्पसङ्ख्यक जातीय समुदायका व्यक्तिहरू अनलाइन दुर्व्यवहारको बढी निशानामा पर्ने गरेको पनि उल्लेख गरे।
राउलीले आफ्नो वक्तव्यमा उमरको काम र योगदान नबुझी उनी मुस्लिम महिला प्रहरी अधिकारी भएकै कारण निशाना बनाइएको टिप्पणी गरे। उनले किप्पा, पगडी वा हिजाब लगाउने व्यक्तिले पनि प्रहरी सेवामा समान अवसर पाउनुपर्ने बताए।
हिजाब परियोजनामार्फत महिला प्रहरीलाई सहयोग
प्रहरी महासंघका अनुसार उमर आफ्नो प्रहरी क्षेत्रमा हिजाब लगाउने पहिलो महिला अधिकारी हुन्। उनले मुस्लिम महिला प्रहरीका आवश्यकताअनुसार पोसाकका विकल्प विकास गर्न ‘हिजाब परियोजना’को नेतृत्व गरेकी थिइन्।
यस परियोजनाबाट मुस्लिम महिला प्रहरीका लागि उपयुक्त पोसाकका विकल्पहरू ल्याइएको थियो। उनले मुस्लिम प्रहरी अधिकारी तथा कर्मचारीलाई व्यक्तिगत रूपमा सहयोग गर्नुका साथै प्रहरी र मुस्लिम समुदायबीचको सम्बन्ध सुदृढ बनाउन पनि काम गरेकी छन्।
छोरीको प्रश्नले प्रहरी सेवामा आउन प्रेरित गर्यो
पुरस्कार प्राप्त गरेपछि मेट्रोपोलिटन प्रहरी महासंघले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियोमा उमरले सम्मानप्रति आभार व्यक्त गरिन्।
उनका अनुसार सुरुमा उनले प्रहरी सेवामा करिअर बनाउनेबारे सोचेकी थिइनन्। तर उनकी छोरीले एकपटक ‘तपाईंजस्ता महिला पनि प्रहरी बन्न सक्छन्?’ भनेर प्रश्न गरेपछि आफूलाई असहज लागेको उनले बताइन्।
छोरीले आफूजस्तो देखिने प्रहरी अधिकारी नदेखेकै कारण त्यस्तो प्रश्न गरेको महसुस भएपछि प्रहरी सेवामा महिलाको प्रतिनिधित्व र समावेशिता बढाउन काम गर्ने प्रेरणा मिलेको उमरले बताइन्।
उनले आफूजस्ता महिलाका लागि बेलायतको प्रहरी सेवामा अवसर र स्थान सिर्जना गर्न निरन्तर प्रयास गर्दै आएको पनि उल्लेख गरिन्।
यस घटनाले महिला तथा धार्मिक अल्पसङ्ख्यक समुदायका सार्वजनिक सेवकले अनलाइनमा सामना गर्नुपर्ने घृणा र दुर्व्यवहारको विषयलाई फेरि चर्चामा ल्याएको छ।


