काठमाडौं | नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न चेतावनी दिएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भदौ २३–२४ को घटनाको छानबिन प्रारम्भ नहुँदै नेताहरूमाथि राहदानी रोक्का गर्ने र आवतजावतमा रोक लगाउने जस्ता कार्यले सरकार प्रतिशोधी बाटोमा गएको आरोप लगाइएको छ।

जेन–जी पुस्ताले आव्हान गरेको प्रदर्शनको आवरणमा तोडफोड, आगजनी र लुटपाटबाट ७६ जनाको मृत्यु, सयौं घाइते र ठूलो क्षति भएको भन्दै कांग्रेसले घटनाको छानबिन आयोग गठनलाई स्वागत गरे पनि बदलापूर्ण राजनीति अस्वीकार्य हुने चेतावनी दिएको हो।


साथै, हतियारसहित आतङ्क फैलाउने व्यक्तिमाथि कारबाही नगर्ने गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासनको धज्जी उडाएको ठहर कांग्रेसले गरेको छ।


