वीरगन्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र देखाएर केरासमेत ढुवानी गरिएको घटना सार्वजनिक भएपछि वीरगन्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न उठेको छ। वीरगन्ज भन्सारबाट जाँचपास भएर काठमाडौं पुगेको भारतीय नम्बर प्लेटको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि सोही व्यवसायसँग सम्बन्धित थप दुई ट्रकमाथि पनि शंका उत्पन्न भएको छ।

प्राप्त विवरणअनुसार वीरगन्ज महानगरपालिका–२५ श्रीसियास्थित आरोही इन्टरप्राइजेजको नाममा जाँचपास भएको यूपी २५ एफटी ३६५९ नम्बरको भारतीय ट्रकलाई काठमाडौंको जडीबुटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उक्त ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा समेत जाँचबुझ प्रक्रिया अघि बढाइएको बताइएको छ।

ट्रक जाँच गर्दा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा फेला परेको प्रारम्भिक विवरण छ। प्रतिक्यारेट १९ किलोका दरले ४०० क्यारेट सुन्तलाको कुल तौल ७ हजार ६०० किलो अर्थात् ७.६ मेट्रिक टन हुन्छ।त्यस्तै, २०० क्यारेट केरामा प्रतिक्यारेट करिब नौ दर्जनका दरले हिसाब गर्दा करिब एक हजार ८०० दर्जन केरा रहेको अनुमान गरिएको छ।
प्रारम्भिक विवरणअनुसार ट्रकको बाहिरी भागमा सुन्तला राखेर बीचमा केरा लुकाइएको अवस्थामा ढुवानी गरिएको थियो। भन्सार प्रज्ञापनपत्रमा सुन्तला मात्र उल्लेख गरी केरासमेत ढुवानी गरिएको पुष्टि भएमा यसले भन्सार जाँचपास प्रक्रियामा गम्भीर त्रुटि भएको देखाउनेछ।

नेपालमा प्रतिबन्धित भनिएको केराको आयात भन्सार प्रक्रिया पूरा गरेर कसरी सम्भव भयो भन्ने प्रश्नसमेत उठेको छ। भन्सार कागजातमा एउटा वस्तु उल्लेख हुँदा ट्रकभित्र अर्को वस्तु कसरी फेला पर्यो र जाँचपासका क्रममा यो विषय किन पहिचान हुन सकेन भन्नेबारे अनुसन्धान हुनुपर्ने देखिन्छ।
यस प्रकरणमा आरोही इन्टरप्राइजेजकै नाममा जाँचपास भएका थप दुई भारतीय नम्बर प्लेटका ट्रक पनि शंकाको घेरामा परेका छन्। प्राप्त सूचनाअनुसार एमएच ३० सीई ००८३ र यूके ०४ सीसी २८३१ नम्बरका ती ट्रक अहिले वीरगन्ज भन्सार परिसरमै रोकिएका छन्।ती दुवै ट्रकले भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत प्राप्त गरिसकेको बताइएको छ। तर काठमाडौंमा पहिलो ट्रक प्रहरी नियन्त्रणमा परेको खबर सार्वजनिक भएपछि ती ट्रकलाई भन्सार परिसरमै पार्किङ गरेर राखिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार ती ट्रकमा पनि केरा तथा अन्य फलफूल रहेको र वास्तविक तौलभन्दा कम तौल उल्लेख गरी भन्सार प्रक्रिया पूरा गरिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, ती ट्रकमा के कति परिमाणमा सामान छ भन्ने विषय आधिकारिक जाँचपछि मात्रै पुष्टि हुनेछ।वीरगन्ज आईसीपीले समेत ती ट्रकमाथि निगरानी राखेको र आवश्यक जाँच प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

एउटा ट्रक काठमाडौं पुगेर प्रहरी नियन्त्रणमा परेपछि मात्र यो प्रकरण सार्वजनिक भएको हो। तर, सोही व्यवसायसँग सम्बन्धित थप दुई ट्रकले पनि भन्सार जाँचपास र गेटपास प्राप्त गरिसकेको विवरण सार्वजनिक भएपछि भन्सारको भौतिक जाँच तथा तौल निर्धारण प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको छ।
नियन्त्रणमा रहेको ट्रकका चालक धनिराम राजपुत रहेको र उनी भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाका बासिन्दा रहेको विवरण प्राप्त भएको छ।भन्सार प्रक्रियाअनुसार नियन्त्रणमा लिइएका सुन्तला तथा केरासम्बन्धी आवश्यक कानुनी र कागजी प्रक्रिया पूरा भएपछि लिलामी गरिने बताइएको छ। तर, सामानको लिलामी प्रक्रियाले मात्र यो घटनासँग जोडिएका प्रश्नको जवाफ दिने छैन।
भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएको वस्तु र ट्रकमा भेटिएको सामानबीच फरक कसरी भयो, वास्तविक तौलभन्दा कम तौल देखाइएको हो वा होइन, थप दुई ट्रकमा पनि त्यस्तै प्रकृतिको सामान छ कि छैन भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ।त्यस्तै, भन्सार जाँचपासमा संलग्न कर्मचारी, व्यवसायी तथा ढुवानी प्रक्रियासँग सम्बन्धित व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।
काठमाडौंमा एउटा ट्रक पक्राउ परेको घटनासँगै वीरगन्ज भन्सार परिसरमा रहेका थप दुई ट्रकको अवस्था र तिनको जाँचपास प्रक्रियाबारे सम्बन्धित निकायले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ। अनुसन्धानबाट मात्रै यो घटना सामान्य लापरबाही, प्रक्रियागत त्रुटि वा योजनाबद्ध कारोबारमध्ये के हो भन्ने तथ्य खुल्नेछ।


