काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन (VPN) प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ब्युरोले भीपीएन प्रयोग गर्दा व्यक्तिगत डेटा, पासवर्ड, बैंकिङ विवरणलगायत गोप्य जानकारी चोरी हुने खतरा उच्च हुने भन्दै सचेत रहन चेतावनी दिएको हो ।

ब्युरोका अनुसार भीपीएनमार्फत इन्टरनेट प्रयोग गर्दा सर्वर विदेशी मुलुकमार्फत सञ्चालन हुने भएकाले प्रयोगकर्ताको सूचना असुरक्षित हुन सक्छ । यसले साइबर अपराधीलाई सजिलै पहुँच दिने र व्यक्तिगत सुरक्षा गम्भीर जोखिममा पार्ने सम्भावना हुने उल्लेख गरिएको छ ।

साइबर ब्युरोले सामाजिक सञ्जाल, अनलाइन बैंकिङ र व्यक्तिगत सूचना व्यवस्थापनका क्रममा भीपीएन प्रयोग नगर्नु नै सुरक्षित विकल्प हुनेमा जोड दिएको छ । साथै, कुनै शंका लागेमा वा साइबर अपराधको शिकार भएमा तुरुन्तै साइबर ब्युरोलाई जानकारी दिन आग्रह गरिएको छ ।



