- काठमाडौं । सरकारले आज (आइतबार) र भोलि (सोमबार) देशभरका साना बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ दिइँदैछ भने १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ।
अभियान सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी विभिन्न खोप केन्द्रमा परिचालन गरिएका छन्।
हरेक वर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन हुने यस कार्यक्रमले बालबालिकाको आँखाको दृष्टि जोगाउन, रोगसँग लड्ने क्षमता बढाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूको भनाइ छ।
मन्त्रालयले सबै अभिभावकलाई नजिकको खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई आवश्यक औषधि खुवाउन आग्रह गरेको छ।



