वीरगञ्ज । बारामा घरायसी विवादका क्रममा श्रीमतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७, जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अंसारी रहेका छन्। उनलाई बिहीबार (कात्तिक १९ गते) दिउँसो करिब १ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत कात्तिक १७ गते बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुरस्थित ससुराली घरनजिकैको आँपबारीमा कुराकानी गर्ने क्रममा घरायसी विवाद भएपछि अलियासले आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि धारिलो हतियार छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गुल्सानको पेटलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर पुर्याइएको र शल्यक्रियापछि हाल आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका अलियासलाई प्रहरी चौकी इनर्वासिराबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो।पक्राउ परेका अंसारीमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


