९ असार,वीरगञ्ज ।वीरगञ्ज महानगरको आगामी वर्षका लागि ३ अर्ब २२ करोड बढीको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको प्राथमिकता आएको छ| आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरका उपमेयर इम्तियाज आलमले सोमबार वीरगञ्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा यो बजेट प्रस्तुत गरेका हुन्।


चालु आर्थिक वर्षको २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको तुलनामा आगामी आर्थिक वर्षका लागि झन्डै ३३ करोड रुपैयाँ बढी बजेट ल्याइएको हो। उपमेयर आलमले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४%), पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४%) र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख (१.१२%) छुट्याइएको छ।

बजेटको स्रोतका रूपमा उपमेयर आलमले आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २ लाख ८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने जानकारी दिए।

उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको पनि बताए।

महानगर प्रमुख राजेशमान सिंहले नगरसभा प्रारम्भमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो।


