९असार,कलैया ।बाराको कलैया उपमहानगरपालिकाको १५ औ नगर सभा सम्पन्न,रु.१ अर्ब ७२ करोड ७३ लाख बजेट सार्वजनिक “शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” भन्ने नारासहित कलैया उपमहानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयाको करण राज प्यालेसमा सम्पन्न नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख विनोद साहले नगर सभालाई सम्बोधन गर्दै नगरको समग्र विकासका लागि कुनै प्रभाव वा दबाबका अगाडि नझुक्ने दृढता व्यक्त गरे ।

प्रमुख साहले कलैया बजारको कायापलट भइरहेको उल्लेख गर्दै नगरवासीको निरन्तर सहयोगका लागि धन्यवाद दिए । उनले मानवत मटिअर्वा सडक निर्माण सम्पन्न गर्ने तथा कलैया हाट बजारको पुनर्निर्माणलाई आफ्नो प्राथमिकता रहेको बताए ।
साहले जनप्रतिनिधिमाथि कर्मचारीबाट गालीगलौज हुनु शासकीय मर्यादाको उल्लङ्घन भएको भन्दै आपत्ति समेत जनाए । बजार सबैको साझा सम्पत्ति भएकाले यसको विकासमा राजनीति नगर्न सबैलाई आग्रह गर्दै, “कलैयाको विकासमा कुनै अवरोध सह्य हुनेछैन,” भन्ने स्पष्ट सन्देश दिएका थिए ।

उपमेयर रौशन प्रवीणले चालू आव २०८२/८३ का लागि नीति तथा कार्यक्रम र अर्धवार्षिक समीक्षा प्रस्तुत गरिन् । उनले योजनामार्फत कलैयालाई बसोबास योग्य हरित र समुन्नत उपमहानगर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिइन् ।

नगर सभा उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका उपसचिव नाथु साहले नगर सभाले पारित नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै कर्मचारी समर्पित हुने बताए ।
नगरसभाको सञ्चालन जिन्सी शाखा प्रमुख नरोत्तम अधिकारीले गरेका थिए । नगर सभाले प्रशासनिक भवन, सभागृह निर्माण, सडक विस्तार, बजार व्यवस्थापन, हरित क्षेत्र विस्तार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्राथमिकता दिँदै योजनाबद्ध डङ्गमा कार्यान्वयन अघि बढाइने प्रतिबद्धता जनाएको छ ।



