पर्सा| वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरेको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष नगरसभाले उक्त प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । नगरवासीलाई सेवा प्रवाह निरन्तर राख्न तत्काल पुनःनिर्माण आवश्यक ठानेर नगरसभाले बजेट संशोधन गर्ने निर्णय गरेको हो ।

विशेष अधिवेशनमा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट प्रस्तुत गरेका थिए । यसअघि १७औं नगर परिषद्ले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको थियो । त्यसैअन्तर्गतका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम र वडा स्तरका योजनाबाट केही रकम कटौती गरी पुनःनिर्माणतर्फ स्थानान्तरण गरिएको हो ।

संशोधनपछि करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ । यस रकम प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचर, भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान राखिएको छ ।
संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने काम अघि बढाइने भएको छ ।
यस्तै, विशेष अधिवेशनले जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगन्ज महानगरपालिका–१२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि सर्वसम्मत पारित गरेको छ ।


