सिरहा| सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डंग्राहा गाउँका करिब १४ वर्षीय बालक अभिषेक कुमार सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ। यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आफन्तसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार कुकुरसहितको टोलीको प्रारम्भिक अनुसन्धान र स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन। नियन्त्रणमा लिइएकालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

बालकको शव मंगलबार बिहान घरनजिकै अर्जुन आधारभूत विद्यालय जाने बाटोमा भेटिएको हो। घटनास्थल मुचुल्का सहित आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। शव भेटिएको ठाउँदेखि करिब १० मिटर दक्षिणतिर नयाँ खाल्डो खनिएको पाइएकाले हत्या पछि त्यसमा पुर्ने योजना बनाइएको हुनसक्ने प्रहरीको आशंका छ।

स्थानीय वडाध्यक्ष नन्दकुमार महतोका अनुसार अभिषेक आइतबार साँझदेखि बेपत्ता भएका थिए। भोलिपल्ट उनकी आमालाई इमो मार्फत हिन्दी भाषामा पठाइएको सन्देशमा अपहरण भएको जनाउँदै पाँच करोड रुपैयाँ सेप्टेम्बर २५ (असोज ९) भित्र बुझाउन माग गरिएको थियो। साथै प्रहरी वा पत्रकारलाई जानकारी गराएमा गम्भीर परिणाम भोग्नुपर्ने धम्कीसमेत दिइएको थियो।

अभिषेक संजयकुमार सिंह र रेखा सिन्हाको एक्लो सन्तान थिए। उनका बाबु संजयको करिब १० वर्षअघि करेण्ट लागेर मृत्यु भएको गाउँलेहरूले बताएका छन्। बाबुको निधनपछि अभिषेक हजुरबाको संरक्षणमा खेतीपाती र ट्याक्टरको काममा सहयोग गर्दै आएका थिए।


