काठमाडौं, जनमत पार्टीका अध्यक्ष प्रभु साहले जेन–जी आन्दोलनका माग सम्बोधनका लागि अन्तरिम संविधान आवश्यक रहेको बताएका छन् । उनले हालको व्यवस्थाले आन्दोलनकारी युवाहरूको आकांक्षा समेट्न नसक्ने हुँदा नयाँ अन्तरिम संविधानमार्फत राजनीतिक सहमति खोज्नुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै साहले भने, “जेनजी आन्दोलनले उठाएका विषयहरू सामान्य परिवर्तनले सम्बोधन गर्न सकिँदैन, यसका लागि अस्थायी भए पनि नयाँ संवैधानिक व्यवस्था आवश्यक छ ।”

उनका अनुसार देश अहिले अस्थिरताको चरणमा पुगेको छ र विद्यमान संविधानले नागरिकको विश्वास जित्न नसकेको छ । उनले सबै दल र आन्दोलनरत पक्षबीच व्यापक संवाद गरी अन्तरिम संविधानमार्फत राजनीतिक मार्गचित्र तय गर्न आग्रह गरे ।
साहले जेनजी आन्दोलनलाई दमन गरेर समस्या समाधान नहुने बताउँदै शान्तिपूर्ण समाधान खोज्न सरकारलाई चेतावनीसमेत दिए ।


