वीरगन्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

छिपहरमाई गाउँपालिका-३ कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया र भिस्वा जोड्ने सडकमा अवस्थित पुलमुनि खसेको अवस्थामा भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको अनुसार पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका ती युवकको मृत्युको यकिन कारण अहिलेसम्म खुल्न नसकेको बताए । घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ।

उक्त घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखिरियाको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए।


