काठमाडौं । राजश्व चुहावट नियन्त्रणको जिम्मेवारी सम्हालेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार अधिकारीले पदको दुरुपयोग गर्दै निजी कम्पनीलाई राजश्व छलीको अनुसन्धानबाट जोगाइदिने प्रलोभन देखाएर रकम लिएको आरोप छ।

अनुसन्धानका क्रममा एचके इन्टरप्राइजेज प्रालि माथि भइरहेको राजश्व चुहावट सम्बन्धी छानबिनलाई सामसुम पार्न तथा कानुनी कारबाहीबाट बचाउन सहजीकरण गरिदिएबापत उक्त रकम लिएको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ सँग रकम लेनदेन गर्दा अधिकारीले विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछाने सँग मिलेमतो गरेको प्रमाण फेला परेको छ। त्यसैले उनीहरूलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ।
अख्तियारले अधिकारीसहित आरोपित सबैसँग बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।
यस प्रकरणले उच्च तहका कर्मचारीसमेत राजश्व छलीका विषयमा हुने ‘सेटिङ’मा संलग्न हुनसक्ने सम्भावनातर्फ संकेत गरेको भन्दै प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। साथै अन्य संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।


