वीरगञ्ज । वीरगञ्जको उद्योग–व्यापार क्षेत्रमा केडिया परिवार कुनै समय सफल व्यवसाय, सामाजिक प्रतिष्ठा र आर्थिक नेतृत्वको प्रतीक मानिन्थ्यो। स्वर्गीय बृजलाल केडिया र शंकरलाल केडियाले स्थापना गरेको यो व्यापारिक विरासतले वीरगञ्ज मात्र होइन, देशकै आर्थिक क्षेत्रमा लामो समयसम्म इमानदार र भरोसायोग्य पहिचान बनाएको थियो।

तर पछिल्ला वर्षहरूमा यही परिवारका केही सदस्यहरू सार्वजनिक तथा निजी जग्गामाथि दाबी, जग्गा विवाद, चेक बाउन्स र ठगीसम्बन्धी आरोपका कारण विवादमा तानिन थालेपछि परिवारको पुरानो साखमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
सार्वजनिक सम्पत्तिमाथि दाबी
केडिया परिवार पहिलोपटक ठूलो सार्वजनिक आलोचनामा त्यतिबेला परेको थियो, जब प्रदीप केडियाले वीरगञ्जको पुरानो बसपार्कको जग्गा आफ्नो निजी भएको दाबी गर्दै मुद्दा दायर गरेका थिए। २०२९ सालदेखि विधिवत रूपमा सञ्चालनमा रहेको उक्त बसपार्कको जग्गा जोगाउन वीरगञ्ज नगरपालिकाले वर्षौं कानुनी लडाइँ लड्नुपरेको थियो।
जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतबाट दाबी अस्वीकृत भएपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्ततः हार निश्चित देखिएपछि केडिया पक्षले मुद्दा फिर्ता लिएको बताइन्छ।
त्यसपछि पनि सार्वजनिक जग्गामाथि दाबी गर्ने क्रम रोकिएन। साविक छपकैया क्षेत्रको कित्ता नम्बर ११७ र ९७ अन्तर्गत पर्ने झण्डै डेढ बिघा सार्वजनिक जग्गा, जुन पुरानो रेल्वे लाइनसँग जोडिएको छ, निजी नाममा दर्ता गराउने प्रयास भएको विषय सार्वजनिक भयो।
करोडौं मूल्य पर्ने उक्त जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै सार्वजनिक जग्गा नै कायम रहने निर्णय गरेको थियो। त्यसपछि पनि ताराचन्द केडियाले पुनः आफ्नो दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए।
अन्ततः मालपोत कार्यालय पर्साले २०८१ असोज १६ गते उक्त जग्गा सरकारी तथा सार्वजनिक नै रहने निर्णय गरेपछि केडिया परिवारको अर्को विवादित प्रयास असफल भएको बताइन्छ। नेपाल सरकारको नाममा कायम भइसकेको जग्गा पुनः निजी नाममा ल्याउने प्रयासलाई तत्कालीन मालपोत अधिकृत डमरु निरौलाले रोकेको स्रोतको दाबी छ।
हाल उक्त जग्गामाथि पुनः निजी दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जनाइएको छ।
निजी सम्पत्तिमाथि पनि विवाद
सार्वजनिक जग्गा विवाद सेलाउन नपाउँदै अहिले प्रदीप केडियाले वीरगञ्जको आदर्शनगर क्षेत्रमा रहेका व्यावसायिक प्रतिष्ठानहरूमाथि दाबी गर्न थालेको आरोप लागेको छ। बिचौलिया सञ्जय कुमार ठाकुरमार्फत विभिन्न व्यवसायीलाई कानुनी दबाबमा पार्ने प्रयास भइरहेको पीडित पक्षको दाबी छ।
आदर्शनगर निर्माण समितिले दशकौंअघि अधिकरण गरी बिक्री गरिसकेको जग्गामा निर्माण भएको “स्काईलाइन मल” माथि पुनः स्वामित्व दाबी गरिएको छ। यस्तै, होटल पुजन, Nabil Bank, NIC Asia Bank, Everest Bank लगायत १६ भन्दा बढी व्यक्ति तथा संस्थालाई पनि विवादमा तानिएको बताइन्छ।
पीडित पक्षका अनुसार मालपोत कार्यालयको पुरानो अभिलेखमा रहेको प्राविधिक कमजोरीलाई आधार बनाएर दशकौंअघि खरिद–बिक्री भइसकेका जग्गामाथि पुनः दाबी गर्दै आर्थिक बार्गेनिङ गर्ने प्रयास भइरहेको छ।
ठगी र बैंकिङ कसुरका आरोप
केडिया परिवारका सदस्यहरू केही फौजदारी प्रकृतिका मुद्दामा पनि मुछिएका छन्। सञ्जय कुमार केडियाविरुद्ध जग्गा बिक्री गर्ने भन्दै रकम लिएर पछि न जग्गा दिएको, न रकम फिर्ता गरेको आरोप लागेको छ। रकम फिर्ताका लागि दिइएको चेक समेत बाउन्स भएपछि पर्सा जिल्ला अदालतमा बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दा दर्ता भएको जनाइएको छ।
त्यस्तै, मयंक केडियामाथि पनि छिपहरमाई गाउँपालिकाको जग्गा बिक्री गर्ने बहानामा रकम लिएर पछि जग्गा दिन अस्वीकार गरेको आरोप लागेको छ।
सिद्धार्थ बैंक प्रकरण
केडिया परिवारसँग जोडिएको अर्को विवाद Siddhartha Bank सँग सम्बन्धित छ। त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने जग्गा भविष्यमा सरकारले खाली गराउन सक्ने जानकारी हुँदाहुँदै पनि बैंककै नाममा खरिद गराइएको आरोप छ।
यस घटनाबाट व्यक्तिगत लाभ लिइएको भए पनि बैंकका निक्षेपकर्ता र सेयरधनीको लगानी जोखिममा परेको भन्दै आलोचना भइरहेको छ।
परिवारभित्रै चिन्ता
एकपछि अर्को विवाद, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको दाबी र विभिन्न आरोपका कारण परिवारभित्रकै केही सदस्यसमेत असन्तुष्ट रहेको चर्चा छ। वीरगञ्जका व्यवसायी र समाजसेवीहरूका अनुसार पुर्खाले कमाएको प्रतिष्ठालाई सन्तानले गलत महत्वाकांक्षा र असुली प्रवृत्तिका कारण कमजोर बनाइरहेका छन्।
कुनै समय वीरगञ्जको आर्थिक नेतृत्व र विश्वासको पर्याय मानिने केडिया परिवार अहिले विवाद, अविश्वास र कानुनी किचलोको केन्द्रमा पुगेको स्थानीयहरूको टिप्पणी छ।
यता प्रदीप केडियाले भने आफूहरूले पुर्खाको सम्पत्तिमाथि वैधानिक दाबी मात्र गरेको बताएका छन्। “पहिले जानकारी थिएन, अहिले हाम्रो सम्पत्ति भएको प्रमाण फेला परेपछि कानुनी बाटो अपनाएका हौं,” उनले बताएका छन्। सार्वजनिक आलोचनाबारे उनले “नकारात्मक टिप्पणीले फरक पर्दैन” भन्ने प्रतिक्रिया दिएका छन्।
केडिया परिवारको पछिल्लो अवस्थालाई धेरैले वीरगञ्जको व्यापारिक इतिहासकै दुःखद अध्यायका रूपमा लिन थालेका छन्। समाजमा अहिले एउटा प्रश्न उठिरहेको छ— पुर्खाले कमाएको प्रतिष्ठा जोगिनेछ कि विवादको भारले त्यसलाई समाप्त पार्नेछ ?


