वीरगञ्ज वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद बिहीबार हिंसात्मक बनेपछि क्याम्पसको शैक्षिक वातावरण तनावग्रस्त भएको छ। क्याम्पस प्रमुख किशोरी रायमाथि दुर्व्यवहार तथा हातपात भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्याम्पसका शिक्षक दिलीप प्रजापति र सह–लेखापाल देवलाल ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूमाथि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा क्याम्पस प्रमुख राय र शिक्षक प्रजापतिबीच तानातान तथा लछारपछार भएको देखिन्छ। केही स्रोतहरूले घटनाका क्रममा क्याम्पस प्रमुखमाथि कालोमोसो समेत दलिएको बताएका छन्।
विवादको जरो भने क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी चार जनाको करार सेवा समाप्त गर्ने निर्णयलाई मानिएको छ। सेवा अन्त्य गरिएका व्यक्तिहरूमा लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलीपकुमार पण्डित रहेका छन्। उक्त निर्णयको विरोध गर्दै शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गरेका थिए।क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि सहमति हुन नसकेपछि विवाद चर्किँदै गएको बताइएको छ। यही तनावबीच बिहीबार झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ। घटनापछि केही समय क्याम्पस परिसर तनावपूर्ण बनेको थियो।
घटनापछि क्याम्पस प्रशासनले शुक्रबार एक दिनका लागि सबै तहको पठन–पाठन स्थगित गरेको छ। प्रशासनले “विशेष कारणवश” भन्दै सूचना जारी गरेको जनाएको छ।शिक्षण संस्थाभित्रै शिक्षक र कर्मचारीबीच हात हालाहालको अवस्था सिर्जना भएपछि स्थानीयवासीले क्याम्पसको शैक्षिक तथा प्रशासनिक व्यवस्थामाथि प्रश्न उठाएका छन्। सामुदायिक क्याम्पसमा सीमित व्यक्तिको प्रभाव र निजी स्वार्थ हाबी हुँदै गएको आरोपसमेत लाग्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटनाले वीरगञ्जको प्रमुख सामुदायिक क्याम्पसमध्ये एक मानिने हरिखेतान क्याम्पसभित्रको व्यवस्थापन संकट र आन्तरिक कलहलाई सतहमा ल्याएको स्थानीयको टिप्पणी छ।


