९ असार,वीरगञ्ज ।जिल्ला प्रहरी कार्यालय बिरगंज,पर्साकाे अपराध अनुसन्धान कार्ययोजना निरीक्षण कार्यक्रम सम्पन्न भएको छ|अपराध अनुसन्धान कार्ययोजना (CAP) अन्तर्गतको निरीक्षण तथा निर्देशन कार्यक्रम आज जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। निरीक्षण टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्सा (हाल जनकपुरधाम, धनुषा) का प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले गर्नुभएको थियो।


टोलीले जिल्ला प्रहरी कार्यालयका महत्वपूर्ण शाखाहरू जस्तै: अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा तथा नागरिक सहायता कक्ष लगायतको सूक्ष्म निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा, प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले सुधार गर्नुपर्ने पक्षहरू औंल्याउँदै अनुसन्धानका प्रक्रियाहरू र विभागीय नीति निर्देशनहरूको कार्यान्वयनलाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले CAP का लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न आवश्यक सम्पूर्ण कार्यहरू त्रुटिरहित ढंगले गर्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार थप रूपमा, प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई निस्वार्थ र पारदर्शी तरिकाले प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो। यस निरीक्षण तथा निर्देशन कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा अपराध अनुसन्धान र सार्वजनिक सेवा प्रवाहको दक्षता र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ।


