१२ असार,सर्लाही।सर्लाहीमा टिपरको ठक्करले युवकको मृत्यु हुदा स्थानीयले टिपरमा आगो लगाएका छन्| लालबन्दी नगरपालिकामा बुधबार राति भएको एक हृदयविदारक घटनाले स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ। अनियन्त्रित टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दाले टिपरमा आगजनी गरी जलाइदिएका छन्।


बुधबार राति करिब ८ बजेको समयमा लालबन्दी नगरपालिका(५, मेजरगंजस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो। जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकलमा सवार युवकलाई ठक्कर दिएको थियो जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ|।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका सर्लाहीको कबिलासी नगरपालिका ८, अगर्वा बस्ने २० वर्षीय सचिन साह गुप्ता लाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

मृत्युको खबर फैलिएलगत्तै घटनास्थलमा स्थानीय बासिन्दाहरूको ठूलो भीड जम्मा भयो। टिपर चालक फरार भएपछि आक्रोशित स्थानीयहरूले दुर्घटना गराउने ना २ क ५०१ नम्बरको टिपरमा आगजनी गरिदिएका थिए। आगजनीबाट टिपरको अगाडिको भाग पूर्णरूपमा जलेर नष्ट भएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो। पछि क्रेनको सहायताले जलेको टिपरलाई तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा लगिएको प्रहरीले जनाएको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ|

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। चालकको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ। सडक सुरक्षामा लापरबाही र त्यसले निम्त्याउने मानवीय क्षतिका कारण स्थानीयमा आक्रोश बढ्दै गएको यो घटनाले थप उजागर गरेको छ।


