राम आर्य
१२असार ,वीरगञ्ज |आगामी शुक्रबार वीरगञ्जमा आयोजना हुने गहवामाई रथयात्राको पूर्वसन्ध्यामा पर्सा जिल्ला प्रशासनले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखेको छ। गहवामाई मन्दिरको पुनर्निर्माणको १३औं वार्षिकोत्सवको अवसर पारेर हुन लागेको यस ऐतिहासिक धार्मिक यात्रामा एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहने अनुमान गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, रथयात्राका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि र भीड व्यवस्थापनका लागि सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ। उनले भने, “सम्भावित जोखिमहरूलाई ध्यानमा राखेर पूर्वतयारी गरिएको छ, र सुरक्षा रणनीति तय गरिसकिएको छ।”

गत वर्षको हनुमान जयन्तीको शोभायात्रामा दुई धार्मिक समुदायबीच भएको झडपपछि वीरगञ्जमा केही दिन तनावको अवस्था सिर्जना भएको थियो। सो घटनालाई दृष्टिगत गर्दै यसपटकको रथयात्रा अझ संवेदनशील मानिएको छ।

सुरक्षा तयारीका क्रममा बिहीबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू समेतको टोलीले रथयात्राको परिक्रमा मार्गको स्थलगत निरीक्षण गर्यो। निरीक्षणपछि सम्भावित जोखिमको स्क्यानिङ गरिनुका साथै आवश्यकता अनुसार सुरक्षा रणनीति परिमार्जन गरिएको जनाइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा आयोजक समिति, वीरगञ्ज महानगरपालिका, र सुरक्षा निकायबीच समन्वयात्मक बैठक सम्पन्न भइसकेको छ। बैठकमा यात्रालाई शान्तिपूर्ण, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा छलफल भएको थियो।

प्रशासनले सर्वसाधारण, भक्तजन र स्थानीयबासीलाई धैर्य, सहिष्णुता र सहयोगपूर्ण सहभागिता जनाउन आग्रह गर्दै, धार्मिक सहिष्णुता कायम राख्न अपिलसमेत गरेको छ। रथयात्रा वीरगञ्जको धार्मिक–सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रम भएकाले सुरक्षा र व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने जनाइएको छ।



