राम आर्य

१५असार,बारा| पचरौता नगरपालिकाले २२औँ राष्ट्रिय धान दिवस र असार १५ लाई विशेष कार्यक्रमका साथ मनाएको छ। “धानवालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ नगर क्षेत्रको बेनौली गाउँ नजिकको खेतमा सामूहिक रोपाइँ कार्यक्रम गरिएको हो।

कार्यक्रममा नगरप्रमुख जलंधर सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशी, पालिका प्रवक्ता एवं वडा अध्यक्ष लक्ष्मी यादव, वडा अध्यक्षहरू धेनुक राऊत कुर्मी, मकबूल मियाँ अंसारी, गगनदेव यादव, वडा सदस्यहरू, कर्मचारी, कृषक तथा स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। उनीहरूले हातैमा धानको बिरुवा लिएर रोपाइँ गर्दै कृषि क्षेत्रप्रतिको सम्मान र आत्मनिर्भरताको सन्देश दिएका थिए।

असार १५ लाई नेपाली समाजमा कृषिप्रधान संस्कृतिसँग जोडिएको महत्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन दही चिउरा खाएर असार १५ मनाउने चलन छ, जुन परम्परालाई कायम राख्दै नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीहरूले पनि दही चिउरा खाई पर्व मनाएका थिए।
यस कार्यक्रममार्फत पचरौता नगरपालिकाले कृषि क्षेत्रप्रति सरकारको प्रतिबद्धता र स्थानीय उत्पादनमा निर्भर हुने लक्ष्यलाई उजागर गरेको छ।


