Lucky-Khabar_

वीरगञ्जमा पत्रकारमाथि दुर्व्यवहार : नेपाल पत्रकार महासङ्घको आपत्ति, दोषीलाई कारबाहीको माग

२३असार, वीरगञ्ज,। नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासङ्घले ठाकुरलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा असार २२ गते (आइतबार) वीरगञ्जस्थित क्लासिक ब्यांक्वेटमा आयोजित स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूमाथि ठाकुरले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्दै गालीगलौज तथा दुर्व्यवहार गरेको उल्लेख छ ।

ठाकुरले आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी र आनन्दकुमार पटेललगायत पत्रकारहरूलाई लक्षित गरी गालीगलौज गरेका थिए ।

चलचित्र पत्रकार सङ्घको कार्यक्रममा सहभागी हुन गएका पत्रकारहरू भूलवश स्वास्थ्य कार्यालयको कार्यक्रममा प्रवेश गरेपछि ठाकुरले आक्रोशित हुँदै दुर्व्यवहार गरेको जानकारी दिए । “ठाकुरले मादक पदार्थ सेवन गरेजस्तो अस्वाभाविक व्यवहार देखाए । प्रश्न उठाउँदा गालीगलौज गरे र बिचौलियाको सहयोगमा कार्यक्रम स्थलबाट भागे,” चौधरीले भने ।

content ad p2

पत्रकार राजु बैठाले पनि ठाकुरले आफूलाई अपमानित गर्दै गालीगलौज गरेको बताए । “भूलवश कार्यक्रम स्थल प्रवेश गरिएकाे मात्र हो, तर हामीलाई अपमानित गरियो,” बैठाले बताए ।

नेपाल पत्रकार महासङ्घले घटनालाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारको पेसागत मर्यादामाथिको आक्रमणको रूपमा लिएको छ । आक्रोशित पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा ठाकुरविरुद्ध जाहेरी दर्ता गरेका छन् ।

महासङ्घका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा प्रहरी कार्यालय पुगेको टोलीले मादक पदार्थ सेवन जाँच (मापसे) र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएको छ । तर घटना भएको एक दिन बितिसक्दा पनि कारबाही अघि नबढाइएकोप्रति पत्रकारहरूले आपत्ति जनाएका छन् ।

महासङ्घले ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै ठोस कारबाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । अन्य पत्रकार सङ्गठन, नागरिक समाज र बुद्धिजीवीहरूसँग समन्वय गरेर आन्दोलनको तयारी भइरहेको महासङ्घले जनाएको छ ।

स्थानीयबासीहरूले पनि ठाकुरको व्यवहारलाई निन्दनीय भन्दै कारबाहीको माग गरेका छन् । “स्वास्थ्य तालिम दिने व्यक्ति नै नशामा उत्रन्छ भने कार्यक्रमको विश्वसनीयता के रहन्छ?” एक स्थानीयले भने ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रलाई जानकारी गराइएको छ । प्रहरीले दोषीमाथि मापसे जाँच र कानुनी प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ ।

यो घटनाले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर