Lucky-Khabar_

भक्तपुरमा मृत भेटिएका दिदीबहिनी आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए

८ साउन, काठमाडौं ।भक्तपुरमा मृत भेटिएका दिदीबहिनी आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए| आज बिहान भक्तपुरमा मृत फेला परेका दुई दिदीबहिनीको घटनाले स्तब्ध बनाएको छ।

content ad p2


१७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेलको शव मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा भेटिएपछि स्थानीय र प्रहरी दुवै चकित परेका छन् । उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८, तिनकुनेका स्थायी बासिन्दा हुन् भन्ने खुलेसँगै यो घटनाले अझै गहिरो मोड लिएको छ ।


यो दुखद घटनाको सबैभन्दा पीडादायी पक्ष के हो भने, यी दिदीबहिनी केही समयअघि भारतबाटै हराएका थिए । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का वडाध्यक्ष दिपककुमार थापाले मृतक दिदीबहिनीका बुवा बालाराम (बासुदेव) कँडेल र आमा उमा कँडेल रोजगारीका सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएको बताए ।

मृतक दिदीबहिनीकी आमा उमा कँडेलले करिब तीन साताअघि छोरीहरू मुम्बईको मिरा भाईन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई दिएको अन्तरवार्ताले हृदय छियाछिया पार्छ । उमाले आँखाभरी आँसु पार्दै भनेकी थिइन्, “छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्केका हुन्। कम्प्युटर कक्षाबाट घर आउने समय साँझ ७ बजे थियो। सात बज्दासम्म हेर्‍यौँ, घर नआएपछि फोन गरेँ तर, लागेन ।”

पछि उनले छोरीहरूले पठाएको भ्वाइस म्यासेजको स्मरण गर्दै भनिन्, “हामी यहाँ छैनौँ। बेङ्गलोर गयौँ । हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ। त्यसभन्दा अगाडि भेट्न सक्दैनौँ।” यो म्यासेज कान्छी सृजनाले पठाएकी थिइन्। त्यसपछि कँडेल दम्पतीले आफ्ना सन्तानको खोजीका लागि हरसम्भव प्रयास गरेका थिए। उमाले भावुक हुँदै भनेकी छन्, “म काममा थिएँ। पछि घर गएर हेर्दा छोरीहरूले आफ्ना सबै लुगा, पैसा लगेका रहेछन्। यताउता हेर्दा देखिइनन्। आफन्तकोमा फोन गर्‍यौँ। भेटिएनन्। पछि प्रहरीलाई खबर गर्दा नेपालतिर गइरहेको भन्यो ।”

कम्प्युटर कक्षा जान्छु भनेर हिँडेका ती दुई बहिनी भारतबाट नेपाल कसरी आइपुगे? भक्तपुरको बोडेसम्म उनीहरूको यात्रा कसरी भयो ? र सबैभन्दा महत्त्वपूर्ण, उनीहरूको मृत्युको कारण के हो? यी प्रश्नहरूले अहिले भक्तपुर प्रहरी र सम्पूर्ण जनमानसलाई गिजोलेको छ। यस दुखद घटनाले एउटा परिवारमाथि बज्रपात पारेको छ भने, यसले सुरक्षा र मानव बेचबिखनका पाटोमा पनि गम्भीर प्रश्नहरू खडा गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर