वीरगञ्ज ।जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा मधेश केन्द्रित दलहरू फेरि एकताको दिशातर्फ उन्मुख भएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले ‘अलग–अलग रहँदा मधेशको हित सम्भव छैन’ भन्दै एकताको गृहकार्य सुरु गरेको छ।

२०७४ सालमा बनेको जसपाबाट पटक–पटक विभाजन भएका मधेशवादी दलहरू अहिले फेरि जनचेतना र राजनीतिक दबाबका कारण एकताको आवश्यकता देखिरहेका छन्। मोर्चामा जसपा (उपेन्द्र यादव), लोसपा (महन्थ ठाकुर), राष्ट्रिय मुक्ति पार्टी (राजेन्द्र महतो), जनता प्रगतिशील पार्टी (हृदयेश त्रिपाठी), तराई मधेस लोकतान्त्रिक पार्टी (वृशेषचन्द्र लाल) र नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी) आवद्ध छन्।

विश्लेषकहरूको भनाइमा, बिखण्डित मधेशवादी आन्दोलनले जनअपेक्षा पुरा गर्न नसक्दा अब संयुक्त धार अपरिहार्य बनेको हो। औपचारिक एकता कहिले र कसरी हुन्छ भन्ने खुलेको छैन, तर दलहरूबीचको सम्बन्ध सुधारिएको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको संकेत छ।



