काभ्रेपलाञ्चोक|भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा पक्राउ परेकालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका १२ जनालाई न्यायिक मनको आधारमा धरौटीमा छाड्न आदेश दिएको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन्।
उनका अनुसार बनेपास्थित इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, पनौती र धुलिखेलका प्रहरी बिट तथा बसपार्कस्थित प्रहरी संरचना लगायतमा भएको तोडफोड, आगजनी, सवारीसाधन क्षति तथा प्रहरीका लत्ताकपडा र भवनभित्रका हतियार–गोली लुटपाटको अभियोगमा उनीहरू पक्राउ परेका थिए।
अदालतले साकार केसीलाई ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ (भ्लोन), अभि शुद्धाकार र भिम तामाङलाई जनही ३० हजार र अजय तामाङलाई २० हजार धरौटी तोकेर रिहा गरेको कार्कीले बताइन्। सबैले धरौटी बुझाएर रिहाइ पाएको जानकारी दिइएको छ।
उनीहरूविरुद्ध प्रहरीले भिडियो तथा फोटो प्रमाणका आधारमा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो। क्षतिग्रस्त प्रहरी संरचनाको क्षति पाँच करोड ४२ लाख ७६ हजार ४६८ रुपैयाँ हुने प्रारम्भिक मूल्याङ्कन गरिएको छ।
त्यसबाहेक कात्तिक अन्त्यतिर पक्राउ परेका थप पाँचजनाको म्याद विस्तार गरी अनुसन्धान भइरहेको अदालतले जनाएको छ।
जिल्लाभरका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक कोमल शाहका अनुसार निजी संरचनामा भएको क्षतिबारे छ वटा उजुरी परेका छन्, र आन्दोलनका क्रममा १८ वटा सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।


