नुवाकोट| नुवाकोटको म्यागङ गाउँपालिकामा दुई दाजुभाइको हत्या प्रकरणमा मुख्य आरोपीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरिएका दाजुभाइको शव खोलामा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमास्थित तोमजोङ खोलामा म्यागङ–४ किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङकै ३६ वर्षीय धनबहादुर तामाङ उर्फ धने तामाङले पुरानो रिसइबीका कारण भरुवा बन्दुक प्रयोग गरी दाजुभाइको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे जानकारी पाएपछि अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले खोलामा ढुंगाले चेपेर लुकाइएको अवस्थामा शव उत्खनन गरी पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाएको जनाएको छ।
प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार घटनासँग सम्बन्धित चार जनालाई प्रारम्भिक चरणमै नियन्त्रणमा लिइएको थियो भने फरार रहेका मुख्य आरोपी धने तामाङ र माइला भनिने सोमबहादुर तामाङलाई बिहीबार धादिङको खनियाँबास–५ भिरवनबाट पक्राउ गरिएको हो। पक्राउका लागि जिल्ला प्रहरी कार्यालय धादिङको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको आशंका गरिएको तीन थान भरुवा बन्दुक र एक थान मोटरसाइकल समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामाले बताए।
स्थानीयका अनुसार मृतक दाजुभाइ र धने तामाङ गाउँमा निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए। म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले निर्माणसम्बन्धी विवादकै कारण घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
एकै घरका दुई दाजुभाइको हत्या भएपछि किम्ताङ क्षेत्र शोकमग्न बनेको छ।


