Lucky-Khabar_

ओलीलाई आफ्नै सहकर्मीको धक्का: “अब विश्राम लिनुस् र युवालाई बाटो छोड्नुस्”

काठमाडौँ, १० जेठ ।
नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व रूपान्तरणको बहस फेरि एकपटक सतहमा आएको छ। एमालेकी वरिष्ठ उपाध्यक्ष एवं पुराना कम्युनिष्ट नेता अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिई युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न खुला सुझाव दिएकी छन्।

content ad p2

पार्टीको भर्खरै सुरु भएको महत्वपूर्ण बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष शाक्यले अध्यक्ष ओलीलाई सम्बोधन गरेर भनिन्, “तपाईंले पार्टी र देशका लागि ठूलो योगदान गर्नुभयो, यसका लागि इतिहासले तपाईंको मूल्याङ्कन गर्नेछ। तर अब समय बदलिएको छ। पार्टीलाई नयाँ उर्जा र गति दिनका लागि तपाईंले यही बैठकबाट सन्यासको घोषणा गरी सहज रूपमा बिदा लिनुस्।”

शाक्यको यो अप्रत्याशित र साहसी प्रस्तावले बैठक हलमा केही बेर सन्नाटा छाएको स्रोतले जनाएको छ। उनले पार्टीभित्र हुर्किँदै गएको ‘एकलौटी निर्णय प्रक्रिया’ र युवा नेताहरूको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न पनि नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गरिन्।

“पार्टीलाई जीवन्त राख्न र आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन नेतृत्वमा नयाँ अनुहार आउनैपर्छ। अध्यक्ष कमरेडले मार्गप्रशस्त गरेर अभिभावकको भूमिकामा बस्नु नै उहाँ र पार्टी दुवैको हितमा हुनेछ,” शाक्यले थपिन्।

नेपाली राजनीतिमा पछिल्लो समय पुराना नेताहरूले पद नछोडेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला एमालेकै शीर्ष तहबाट आएको यो आवाजलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। शाक्यको यो प्रस्तावमाथि अध्यक्ष ओली र अन्य पदाधिकारीहरूले के कस्तो प्रतिक्रिया दिने हुन्, त्यसले एमालेको आगामी भविष्य र समीकरण तय गर्ने निश्चित छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर