२८कार्तिक, काठमाडौं| एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग गठबन्धन तथा सहकार्य गर्ने जनाएको छ ।

पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने र कमजोर रहेको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । एकीकृत समाजवादीले माओवादी केन्द्रलगायत दलसँग गठबन्धनका लागि छलफल गरिरहेको छ। एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेयले सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने जानकारी दिए।

त्यस्तै आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।


