९ माघ,बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चेक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ ।

सवारी चालक तथा सवारी साधनमाथि ट्राफिक नियम उल्लङ्घन गरी चलाउनेलाई कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु १ करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन भएको छ ।
सोहि अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु १ करोड १६ लाख चार हजार राजस्व संकलन गरेको थियो ।
यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ट प्रहरी नायब निरीक्षक राजेश कु. दाहालले बताएको छ |
”सवारी चलाउदा सुरक्षा अपनाउ,ज्यान जोगाउ” भनि भनाईका साथ बरिष्ट प्रहरी नायब निरीक्षक दाहालले सवारी चालकलाई बिभिन्न माध्यमबाट जानकारी गराई रहन्छ |
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताएका छन ।





