३० माघ,काठमाडौँ । मेलम्चीको मुख्य पाइप बिजुलीको तार भूमिगत गर्दा फुटेपछी बबरमहल जलमगन भएको छ |

काठमाडौंको बबरमहलस्थित विशेष अदालत अगाडिको सडकमा बिजुलीको तार भूमिगत गर्ने क्रममा प्राधिकरणले मेशिन लगाएर खनिरहेको थियो ।
सोहि क्रममा सडकमुनि रहेका मेलम्ची खानेपानी आयोजनाका करिब ५ वटा पाइपमध्ये मुख्यमै क्षति पुगेको हो । लहरै बिच्छ्याइएका पाइपमध्ये मुख्यमै प्राधिकरणको मेशिनले छुन पुग्दा ठूलो आवाजसहित पड्किन पुगेको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता महानन्द जोशीले बताए । उनका अनुसार केही दिनयता उक्त क्षेत्रमा प्राधिकरण बिजुलीको तार भूमिगत गर्न खनिरहेको थियो ।
‘अन्डरग्राउन्ड केबलिङको काम प्राधिकरणले अघि बढाउने क्रममा मेलम्चीको मुख्य पाइपमा क्षति भएको छ’, उनले भने, ‘त्यस क्षेत्रमा मेलम्ची खानेपानीका पाँचवटा पाइप रहेछन् । जसमा प्राधिकरणको ड्रिलिङ मेशिनले मुख्य पाइपमै छोएपछि पड्किएर पानी बाहिर निस्किएको हो।’
लहरै पाइप गाडिएकाले मेलम्ची खानेपानी आयोजनालाई कुन पाइप फुटेको ठम्याउन केही समय लाग्यो । पाँचवटा पाइपमध्ये पहिचान गर्न समय लाग्दा बाढीकै रुप लिएर बबरमहलस्थित विशेष अदालतसहितको क्षेत्र डुबानमा परेको हो ।
मुख्य पाइप फुटेपछि बिजुलीबजारबाट माइतीघर जाने बबरमहलको सडकमासमेत क्षति भएको छ । विशेष अदालतसहित वरपरका सरकारी कार्यालय डुबान भएको छ ।
मुख्य पाइप फुटेपछि आवातजावतमा समस्या भएको थियो । अहिले मेलम्ची खानेपानी परियोजनाले त्यस क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ ।


