२९ असार, बुटवल ।वडामा भएको टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्यक्षहरुको वडामा बाजी मारेको छ ।

रास्वपाले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकोसमेत वडा पर्ने तिलोत्तमा नगरपालिका-८ को ४ नम्बरस्थित मिलन टोल विकास संस्थाको चुनावमा चालकृष्णरजना पदाधिकारीमा क्लिन स्वीप गरेको छ ।

सो टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो भने कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो ।१५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारीसहित ४ सदस्य रास्वपाले जितेको छ भने सदस्यहरुमा ३ जना एमाले, रास्वपाकै प्यानलबाट राप्रपाका दुई जना र २ जना कांग्रेसबाट निर्वाचित भएका छन् ।
२७२ घरधुरी मतदाता रहेको चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत पाए ।
उपाध्यक्षमा पर्सुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रिना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए ।कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबी चापागाईंले ९८ मत पाएकी छन् ।
तिलोत्तमामा रहेका खानेपानी संस्था, सामुदायिक वन जस्ता उपभोक्ताका संस्थामा कांग्रेस र एमालेले भागबन्डा गरेर संस्थामा राजनीतिकरण हाबी गराउँदा मतदाताहरु दुई दलप्रति रुष्ट भएको नतिजा टोल विकास संस्थाको चुनावमा देखिएको नेकपा एमाले तिलोत्तमाका एक नेताले बताए ।
रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिण्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रुपमा यो चुनावलाई बुझ्नुपर्ने बताए ।




