राम सुन्दर आर्य
३२असार,बिरगंज । पुरानो जग्गा विवाद र पंखा चोरीको विषयलाई लिएर वीरगञ्ज महानगरपालिका–१ छपकैया टोलमा उत्पन्न विवाद हिंसात्मक झगडामा परिणत भएको छ। सोही क्रममा एक महिलामाथि ज्यान लिने प्रयास भएको छ।

सो घटनामा ५० वर्षीया लालचुनी देवी यादव गम्भीर घाइते भएकी छन्। पीडितलाई तत्कालै वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ, जहाँ हाल उनको उपचार भइरहेको छ।

घटना भएको समयमा उनी घरमा नरहेका बेला एक अपरिचित व्यक्तिले उनकी श्रीमतीमाथि घरमै प्रवेश गरी घातक हमला गरेका पीडितका श्रीमान् जयलाल यादवका बताएको छ। भैंसी खुवाइरहेकी अवस्थामै ती व्यक्तिले दुपट्टा र मालाले उनको घाटी कसी ज्यान लिने प्रयास गरेको उजुरीमा उल्लेख गरिएको छ। हमलाबाट लालचुनी देवीको घाटीमा गहिरो नीलडाम देखिएको छ भने शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको छ।

जयलाल यादवमाथि छिमेकी प्रहरी हवलदार सुबोध मिश्रले पटक–पटक झुटा आरोप लगाउँदै मानसिक तथा शारीरिक हैरानी दिँदै आएको आरोप लगाएका छन्। उनका अनुसार मिश्रको उक्साहटमा बाहिरी व्यक्तिमार्फत हमला भएको हो।पीडित पक्षले पहिले पनि ज्यान मार्ने धम्की आइरहेको बताउँदै आफ्नो परिवार असुरक्षित भएको जनाएको छ।
उक्त घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उजुरीमा प्रहरीकै संलग्नतामा सो हमला भएको दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले यस विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको जनाएको छ। पीडित पक्षले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्।


