४ साउन,वीरगञ्ज ।सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवका समर्थकद्वारा एसपीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। सयौँ युवा आइतबार सडकमा उत्रिएर यादवमाथि लगाइएको मुद्दा खारेज गर्न र जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै तत्काल माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।


मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा गत हप्ता राति अबेरसम्म काम भइरहेको र त्यहाँ अनियमितता भएको विषयमा नेता यादव र सर्लाहीका एसपी खड्काबीच चर्को विवाद र भनाभन भएको थियो। सोही घटनापछि प्रहरीले यादवलाई पक्राउ गर्न खोजेको थियो। प्रहरी यादवको घरमा पुग्दा स्थानीयले प्रहरीको गाडीमाथि तोडफोडसमेत गरेका थिए। त्यसपछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो। यस घटनायता यादव फरार छन्।

जसपासहित सर्लाहीका ६ राजनीतिक दलले नेता यादवमाथि लगाइएको मुद्दा ‘झुटो’ भएको भन्दैउनको समर्थन गरेका छन्। जसपा, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न र एसपी खड्कामाथि नै कारबाही गर्न माग गरेका छन्।

यी दलहरूले पूर्वाधार कार्यालयमा भएको भनिएको अनियमितता लुकाउन प्रहरी प्रमुखले नै यादवलाई फसाउन खोजेको आरोप लगाउँदै आएका छन्। उनीहरूले मुद्दा खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।


