१८ भदौ, बिरगंज । बिरगंज युवा समाजले पर्साका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोय नारायण सुवेदी र सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण बिरगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरण चन्द भट्टलाई कार्यकक्षमै भेटेर स्वागत गरेको छ।

स्वागत कार्यक्रममा युवा समाजका पदाधिकारीहरूले नवनियुक्त दुवै अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै परिचयात्मक छलफल गरेका थिए। सो अवसरमा उपाध्यक्ष सुभद्रा राणाले अहिलेका समसामयिक विषयमा संक्षिप्त छलफलसमेत गरिएको जानकारी दिइन्।

प्रजिअ सुवेदिले समाज परिवारलाई धन्यवाद ज्ञापन गर्दै आपत–विपतका समयमा बिरगंजका युवाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। उनले शान्ति–सुरक्षा, सरकारी सेवामा तदारुकता र इमान्दारितासहित पर्सावासीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवासहित सम्पूर्ण नागरिकको साथ आवश्यक हुनेमा जोड दिए।

यस्तै, एसपी भट्टले युवाहरू समाजका असली ऐना भएको भन्दै राष्ट्रलाई सकारात्मक दिशामा लैजान युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले बिरगंज युवा समाजले समाजमा अग्रज र महिलाहरूसहित राष्ट्रसेवाप्रति प्रभावकारी जागरुकता फैलाउँदै आपसी भाइचारा र एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा युवा समाजका अध्यक्ष संजिव थापाले संस्थाले विगत १३ वर्षदेखि समाजमा रहेको विकृति, विसङ्गति र कुप्रथाविरुद्ध निरन्तर संघर्ष गर्दै आएको जानकारी दिए। साथै, भूकम्प, बाढी, आगलागी, हुरि जस्ता आपतकालीन अवस्थाहरूमा देशका विभिन्न स्थान पुगेर पीडितलाई सहयोग गर्दै आएको उल्लेख गरे।

स्वागत कार्यक्रममा समाजका सदस्यहरू कमलेश सराफ, लालबाबु सिंह, सृष्टि बिस्ट, काजल कोइराला, रोजि प्रधान, अस्मिता थापा, पुष्पराज कोइराला, बिनोद धिमाल, सुमन पौडेल, मनोज गुप्ता, सुदेश लाखे लगायतको उपस्थिति रहेको थियो।


