Lucky-Khabar_

मधेस प्रदेशमा अपराध नियन्त्रणका लागि सहकार्य अपरिहार्य : एसएसपी कोइराला

राम आर्य

content ad p2

बिरगंज । मधेस प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले मधेस प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सहकार्यलाई मुख्य आधार बनाइने बताएका छन्।

शुक्रवार वीरगञ्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसएसपी कोइरालाले सामाजिक अपराधहरू मधेस प्रदेशको प्रमुख चुनौती रहेको उल्लेख गरे। उनले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम गर्न प्रदेश प्रहरी कार्यालयले आठै जिल्लाका प्रहरी कार्यालयहरूसँग नजिकबाट सहकार्य गर्ने बताए।

उनका अनुसार, मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलन, अपराध विश्लेषण, फैसला कार्यान्वयन तथा सम्बन्धित निकायहरूसँग समन्वयलाई प्राथमिकता दिनेछ।

एसएसपी कोइरालाले संघीय प्रहरी ऐन अझै कार्यान्वयन नहुँदा केही चुनौती रहेको स्वीकार गर्दै भने, “स्रोतसाधन र कानुनी संरचनामा सीमितता छ तर पनि हामी निरन्तर अपराध नियन्त्रण र शान्ति सुव्यवस्थामा लागिरहेका छौँ। ऐन लागू भएपछि प्रहरीको काम अझ प्रभावकारी र व्यवस्थित हुनेछ।”कार्यक्रममा उनले पत्रकारहरूसँग सहकार्यको आवश्यकता औंल्याउँदै सुरक्षा सम्बन्धी सूचना आदानप्रदानमा सक्रिय सहयोग गर्न आग्रह गरे। “पत्रकार समाजको ऐना हुन्, तपाईँहरूले दिने सूचना अपराध नियन्त्रणमा ठूलो योगदान पुर्‍याउन सक्छ,” उनले भने।

लागूपदार्थ दुरुपयोग, मानव तस्करी, सामाजिक अपराध र सीमापार अपराधजस्ता समस्याहरूलाई प्रदेशको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै उनले ती समाधानका लागि स्थानीय समुदाय, पत्रकार र सरोकारवालासँग सहकार्य आवश्यक रहेको स्पष्ट पारे |पत्रकारहरूको प्रश्नको जवाफ दिँदै एसएसपी कोइरालाले पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्‍याए। साथै, मधेस प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, शान्ति सुव्यवस्था र जनसुरक्षाका लागि थप रणनीतिक योजना बनाएर स्थानीय तह, प्रशासन र नागरिक समाजसँग मिलेर अघि बढ्ने जानकारी दिए।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर