Lucky-Khabar_

भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमले गर्दा राजमार्ग २ दिन बन्द गर्न विशेषज्ञको सुझाव

काठमाडौं ।शनिबार बिहानदेखि देशका विभिन्न भागमा सुरु भएको अविरल वर्षाले बाढी र पहिरोको जोखिम उच्च बनेको छ । मौसमविद्हरुले विशेषगरी पहिरो संवेदनशील राजमार्गमा यात्रु चाप बढ्ने भएकाले अस्थायी रूपमा आवतजावत रोक्नुपर्ने सुझाव दिएका छन् ।

content ad p2

भारतको उडिसा नजिक बनेको मौसमी प्रणाली शनिबार बिहानदेखि बिहार हुँदै नेपाल प्रवेश गरेको अनुमान छ । यसले विशेषगरी वीरगञ्ज, जनकपुरलगायत मधेशका जिल्लामा अति भारी वर्षा गराउने सम्भावना छ भने पश्चिमतिर बुटवल, भैरहवा, चितवन, मकवानपुर, हेटौंडा, तनहुँ, गोरखा हुँदै काठमाडौं उपत्यकासम्म प्रभाव पर्ने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलले चितवन, मकवानपुर, काठमाडौं र काभ्रेलगायत क्षेत्रमा यात्रु बढी हुने भएकाले जनसुरक्षाका दृष्टिले राजमार्ग बन्द गर्नु नै उपयुक्त हुने बताएका छन् ।

काठमाडौं उपत्यका भित्रिने नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबाससहितका सडक खण्ड पहिरो जोखिममा परेका छन् । विपद व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले भने,“भारी वर्षा बढेमा होचो ठाउँका सडक डुबानमा पर्न सक्छन् । त्यसैले अत्यावश्यक काम बाहेक उपत्यकाभित्रै पनि मानिसले यात्रा नगरे उत्तम हुन्छ ।”

हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती नदी किनारका बस्ती उच्च जोखिममा रहेका छन् । त्यसैले बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यसबीच, बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातको समयमा सवारी सञ्चालन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत राति उपत्यका भित्रिने–निस्किने यात्रा नगर्न आग्रह गरेको छ ।

मौसमविद्हरुका अनुसार, आइतबार रातिसम्म कोशी प्रदेशमा भारी वर्षा हुने र सोमबार बिहानदेखि क्रमिक सुधार आउने अनुमान छ । तर त्यसभन्दा अघि कम्तीमा दुई दिन सरकार, स्थानीय निकाय र बस्ती सबै तहमा उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर