बिरगंज |बिरगंजमा बाढीपीडितहरूलाई जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आजदेखिबिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने कार्य सुरु गरिएको छ।

नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार आज पहिलो दिन २५० जनाका लागि खाना तयार गरी वितरण गरिएको हो। बिगत दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरूमा बाढीले घरबार बिहिन बनाएका परिवारहरूका लागि यो पहल गरिएको हो।

अध्यक्ष चौगाईले बाढीपीडितहरूको राहतका लागि आवश्यक परे यो अभियानलाई अझ व्यापक बनाउन पनि तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर रूपमा प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र सहयोग कार्यमा संलग्न छन्।

यस मानवीय पहलले बाढीपीडितहरूलाई राहतका साथै सामाजिक सहकार्य र मानवीय संवेदनाको सन्देश दिएको छ।



