वीरगन्ज – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गरेको छ।
जसअनुसार पर्सा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ युवा नेता तबरेज अहमद को नाम एकल रूपमा सिफारिस गरिएको छ। वीरगन्जमा बिहीबार बसेको जिल्ला कार्य समिति बैठकले सर्वसम्मत निर्णयसहित अहमदको नाम अघि बढाएको हो। उनी भूमिसमस्या समाधान आयोग पर्साका अध्यक्ष पनि हुन्।
पहिलो मधेस आन्दोलनदेखि वीरगन्जमा युवाहरूको नेतृत्व गर्दै सक्रिय रहँदै आएका अहमद जसपाका पूर्व जिल्ला सचिव समेत रहेकाले उनको सक्रियता र पकडलाई ध्यानमा राखी सिफारिस गरिएको पार्टी स्रोतले बताएको छ।
यस्तै, सोही क्षेत्र (पर्सा–४) बाट समानुपातिक तर्फ रम्भा यादव को नाम पनि एकल सिफारिस गरिएको बैठकमा सहभागीले जनाएका छन्।
वीरगन्जस्थित होटल पूजनमा बसेको उक्त बैठकमा जसपा पर्साका अध्यक्ष सिंहासन सा कलवारको अध्यक्षता, पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता तथा वीरगन्ज महानगरका मेयर एवं पार्टी केन्द्रिय सदस्य राजेशमान सिंहको विशेष उपस्थिति थियो। बैठकमा केन्द्रिय सदस्य पुरुषोत्तमलाल झा, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारीलगायतको पनि सहभागिता रहेको थियो।



