काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन राष्ट्रिय पोसाक दिवस मनाइँदै गर्दा काठमाडौंको माइतीघर मण्डलामा जनमत पार्टीले फरक र समावेशी सन्देशसहित धोती जुलुस निकालेको छ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘धोती–टोपी एक हौँ’ भन्ने नारासहित सामूहिक रूपमा धोती लगाएर कार्यक्रम आयोजना गरेका हुन्। तराई र पहाडबीचको सांस्कृतिक एकतालाई बलियो बनाउने उद्देश्यले आयोजित जुलुसमार्फत पार्टीले राष्ट्रिय पोसाकको परिभाषा सबै समुदायलाई समेट्ने गरी व्यापक हुनुपर्ने धारणा राखेको छ।

पार्टीका अनुसार यो कार्यक्रम मधेसी समुदाय र उनीहरूको पहिरनमाथि हुने विभेद तथा दुर्व्यवहारको सांकेतिक विरोधसमेत हो। जुलुसमा सहभागीहरूले शिरमा नेपाली टोपी र जिउमा धोती लगाएर तराई–पहाडको साझा पहिचान प्रस्तुत गरेका थिए।

प्रदर्शनका क्रममा ‘धोती र टोपी दुवै हाम्रो गौरव’, ‘तराई–पहाड एक हौँ’ जस्ता नाराहरू लगाइएका थिए। सहभागीहरूले कुनै एक पहिरनलाई मात्र राष्ट्रियताको मापदण्ड नबनाई सबै समुदायका मौलिक पोसाकलाई समान सम्मान गरिनुपर्ने माग राखे।

जनमत पार्टीले राज्यका सबै अंग तथा राष्ट्रिय दिवसहरूमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्किनुपर्नेमा जोड दिँदै पोसाकका आधारमा हुने विभेद अन्त्य गर्न आग्रह गरेको छ। कार्यक्रममार्फत नेपाली पहिचानभित्र सबै समुदायको समान अपनत्व हुनुपर्ने सन्देश प्रवाह गरिएको पार्टीको भनाइ छ।


