काठमाडौं । बलात्कारपछि हत्या अभियोगमा दोषी ठहर भई फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

कास्की कारागारबाट भदौ २४ गते फरार भएका बागलुङको गलकोट नगरपालिका–९ घर भई हाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ बस्दै आएका ३१ वर्षीय सञ्जय बिकलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले बताए।प्रहरीका अनुसार बिकमाथि २०८० मंसिर ५ गते तनहुँ भिमादकी ३९ वर्षीया सुकु बिकमाथि बलात्कारपछि हत्या गरेको आरोप प्रमाणित भएको छ। उनले पोखरास्थित एक होटलमा लगेर जबरजस्ती करणी गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसअघि सोही कसुरमा उनी २०८१ साउन १ गते पक्राउ परेका थिए। पछि २०८२ जेठ २६ गते कास्की जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। सजाय भोग्दै गर्दा उनी कास्की कारागारबाट फरार भएका थिए।
पक्राउ परेका बिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पठाइएको प्रहरीले जनाएको छ।


