Lucky-Khabar_

एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद, चालकसहित दुई पक्राउ

सुनसरी (विशेष संवाददाता)

बैशाख २३, २०८३

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी अवैध लागूऔषध ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पुलठ्ठे गैडामा गरिएको जाँचका क्रममा एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको १४८ केजी गाँजा फेला परेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एम्बुलेन्स चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार, सुपोलका १८ वर्षीय चालक धर्मेन्द्र कुमार यादव र सोही स्थानका २१ वर्षीय मोहम्मद सदाम रहेका छन्।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव कुमार थेबेका अनुसार शंकास्पद अवस्थामा गुडिरहेको एम्बुलेन्सलाई रोकेर खानतलासी गर्दा गाँजा बरामद भएको हो। “मानवीय सेवामा प्रयोग हुने एम्बुलेन्सको आडमा प्रतिबन्धित लागूऔषध तस्करी हुनु गम्भीर विषय हो,” एसपी थेबेले भने।

प्रहरीका अनुसार एम्बुलेन्सभित्र विभिन्न प्याकेट बनाएर गाँजा राखिएको थियो। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा एम्बुलेन्स, दूधका गाडी र खाद्यान्न बोक्ने सवारी साधनको प्रयोग गरी तस्करी गर्ने गिरोह सक्रिय देखिएपछि प्रहरीले निगरानी बढाएको छ। उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ।


content ad p2

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर