वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नौ उपसचिव र ५२ अधिकृतको सरुवा अन्तर्गत पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका हुन्।

सरुवा सूचीअनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवको धोबिनी गाउँपालिकामा सरुवा भएको छ। सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका रामबाबु कुशवाहालाई पठाइएको छ। चक्रघट्टा गाउँपालिकामा भने जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाको जिराभवानी गाउँपालिकामा सरुवा भएको छ। जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।यस्तै, पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ।
जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको छ। विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहको सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा भएको छ। उनको स्थानमा सर्वजित कुमार झालाई पठाइएको छ।
पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा जिल्ला समन्वय समिति पर्सामा कार्यरत सुमित कुमार सिंहलाई पठाइएको छ।यता, बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको फेटा गाउँपालिकामा सरुवा भएको छ। फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सिरहाको नवराजपुर गाउँपालिकामा सरुवा गरिएको छ।
परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाराको देवताल गाउँपालिकामा कार्यरत कृष्णनन्दन रायलाई पठाइएको छ। देवताल गाउँपालिकामा भने रौतहटको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई सरुवा गरिएको छ।त्यसैगरी, बाराको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवन कुमार केशरीलाई पठाइएको छ।
करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको भूमि व्यवस्था तथा अभिलेख विभाग, काठमाडौंमा सरुवा भएको छ। उनको स्थानमा रमेश अधिकारीलाई करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।पर्सा र बाराका स्थानीय तहमा एकैपटक ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि स्थानीय तहको प्रशासनिक नेतृत्वमा समेत व्यापक फेरबदल भएको छ।


