काठमाडौँ — नेपालमा शुक्रबारसम्म वर्षा र मेघगर्जनको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागमा बदली हुनुका साथै मेघगर्जन, चट्याङ र हुरीबताससहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा असिनापानी र हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
किसानहरूलाई विशेष सावधानी अपनाउन आग्रह
अहिले धान बालीसमेत भित्र्याउने समय भएकाले मौसमविद्हरूले किसानहरूलाई केही दिन बाली नकाट्न वा विशेष सावधानी अपनाएर मात्र कृषि कार्य गर्न सुझाव दिएका छन्।
शनिबारदेखि मौसममा सुधार आउने
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारपछि भने मौसममा क्रमिक सुधार आउनेछ। शनिबारदेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै जाने र घाम लाग्ने सम्भावना रहेको छ। महाशाखाले मौसमसम्बन्धी ताजा जानकारी (अपडेट) हेरेर मात्र यात्रा वा कृषि कार्य तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


