Lucky-Khabar_

वीरगञ्जस्थित हरि खेतान क्याम्पसका कर्मचारीले तलब र सुविधा नपाएको भन्दै प्रजिअलाई ज्ञापनपत्र

९ असार, वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान क्याम्पसका कर्मचारीले तलब र सुविधा नपाएको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएका छन् ।
कर्मचारीहरूले कानूनीरूपमा पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा, सञ्चय कोष, उपदान, ग्रेड तथा खाईपाई आएको तलब नपाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।

content ad p2


उनीहरुले लामो समयदेखि सम्बन्धित कार्यालयहरूमा मौखिक र लिखित रूपमा पटक–पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

ज्ञापनपत्रमा नेपाल सरकार श्रम तथा रोजगार कार्यालय, वीरगञ्जमा २०८० असोज ७ र २१ गते पेश गरिएको निवेदन तथा त्यसका आधारमा २०८० चैत २७ र २०८१ माघ २७ मा गरिएको निर्णयअनुसार सम्पूर्ण सुविधा दिनुपर्ने ठहर भए पनि क्याम्पस प्रशासनले अहिलेसम्म त्यसको पालना नगरेको उल्लेख छ ।

श्रम कार्यालयले पटक–पटक १५, ७ र ३ दिनको समयसीमा तोकी क्याम्पस प्रमुखलाई पत्र पठाएको थियो । तर अहिलेसम्म कुनै सुनुवाई नहुँदा कर्मचारीहरू बाध्य भएर ३ दिनको अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका छन् । कर्मचारी आजको मितिदेखि आगामी ३ दिनभित्र सम्पूर्ण सुविधा उपलब्ध नगराए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी क्याम्पस प्रमुख र सञ्चालक समितिको हुने चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका कर्मचारी युनियनका अध्यक्ष विनोद यादवका अनुसार, प्रमुख जिल्ला अधिकारी अर्यालले आफूहरूले उठाएको विषय गम्भीर रहेको भन्दै श्रम कार्यालय वीरगञ्जका प्रमुखलाई तुरुन्तै फोनमार्फत निर्देशन दिँदै समस्या यथाशिघ्र समाधान गर्न आग्रह गरेका थिए । प्रजिअ अर्यालले कर्मचारीको तलब र सेवा सुविधामा कुनै सम्झौता हुन नदिइने स्पष्ट पार्दै आवश्यक कदम चाँडै चालिने आश्वासन समेत दिएका थिए ।

कर्मचारीहरूले यो विषयमा क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र क्याम्पस सञ्चालक समितिलाई पनि जानकारी गराउँदै बोधार्थ पत्र पठाएका छन् । कर्मचारीहरूले समस्याको शीघ्र समाधान नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर