राम सुन्दर आर्य
२३ असार,वीरगञ्ज|पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमुद ठाकुर प्रहरीको नियन्त्रणमा परेका छन्।

आईतबार वीरगञ्जमा सञ्चालित एक तालिमका क्रममा कार्यक्रम स्थलमा पुगेका पत्रकारहरूमाथि ठाकुरले अशोभनीय र अपमानजनक व्यवहार गरेका थिए। घटनापछि पत्रकारहरूले गुनासो दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

पत्रकारमाथिको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल, पर्सा शाखाले कडा आपत्ति जनाएको छ। चौतारीले पत्रकारमाथिको अपमान प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको ठहर गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। चौतारीले यस सम्बन्धमा जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा, विभिन्न सञ्चारमाध्यमहरू तथा पत्रकारसँग सम्बन्धित संघ–संस्थाहरूले पनि विरोध जनाएका छन्।

पत्रकार महासंघ पर्साका प्रवक्ता एवम् सचिव विजय चौहानले पत्रकारमाथिको घटनालाई गम्भीर रूपमा लिएर प्रहरी अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


