राज सरार्फ़
२५ असार,वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जवाहर गुप्ताको नेतृत्वमा मंगलबारदेखि डिप बोरिङमार्फत वितरण हुने पानीमा अवैध रूपमा मोटर जडान गरी अत्यधिक पानी तान्ने कार्यविरुद्ध कारबाही सुरु गरका छन
। वडाले सबै नागरिकलाई समान रूपमा पानीको पहुँच सुनिश्चित गर्न यो अभियान थालेको हो।

वडा नं. ९ मा लगाएको डिप बोरिङको पाइपमा केही व्यक्तिले जबर्जस्ती अबैध मोटर जडान गरी अत्यधिक पानी तान्दा अन्य सर्वसाधारणले पानी नपाउने अवस्था सिर्जना भएको थियो। अध्यक्ष गुप्ताले बताए, “हामीले गत कार्तिक २२ गते सूचना जारी गरी अवैध मोटर जडान हटाउन र लाइन काट्ने चेतावनी दिएका थियौं। सोहीअनुसार आजदेखि कारबाही थालिएको हो ।


वडामा रहेका चार डिप बोरिङमार्फत करिब ४०० घरमा पानी वितरण गरिएको छ। मंगलबार पहिलो चरणमा १६० घरको अनुगमन गर्दा ८० घरमा अवैध मोटर जडान भेटिएको थियो। यस्ता घरको पानीको लाइन काटेर पाइप बाहिर जडान गरिएको र चेतावनी दिइएको अध्यक्ष गुप्ताले बताए। उनले यो अभियान आगामी दिनमा पनि निरन्तर चल्ने जानकारी दिए।
स्थानीयको मिश्रित प्रतिक्रिया
पानीको संकट बिकराल हुदैगएको अवस्थामा वडा अध्यक्ष गुप्ताको सक्रियतालाई स्थानीयले स्वागत गरेका छन्। तर, महानगरका अन्य वडा अध्यक्षहरू निष्क्रिय रहेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। “खानेपानीजस्तो आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न महानगरको यो कदम प्रभावकारी हुनुपर्छ,” एक स्थानीयले भने।

विज्ञहरूले पानीको संकट समाधानका लागि अवैध मोटर जडान हटाउने कार्यसँगै प्राकृतिक जलस्रोतको संरक्षण र व्यवस्थित वितरणमा जोड दिनुपर्ने बताएका छन्। वडास्तरमा यस्ता पहल प्रभावकारी रूपमा कार्यान्वयन भएमा मात्र पानीको समस्या दीर्घकालीन रूपमा समाधान हुने जनताको विश्वास छ।


