अभिलाष गुप्ता
३१ असार,वीरगञ्ज |विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह “A dwelling to craft all aptitude and morality” भन्ने नाराका साथ शिक्षादान गर्दै आएको साउथ जोन सेकेन्डरी स्कूल, वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।

शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी कल्याणकारिणी परिषद्मा निर्वाचित पदाधिकारीहरूले विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण चार हाउस प्रणाली अन्तर्गत चयन गरिएका क्याप्टेन्स तथा हाउस लिडर्सको सपथ ग्रहण समारोह रह्यो। गार्नेट, सिट्रिन, साफायर र एमराल्ड हाउसबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, विगत सत्रमा विशेष उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई “मायाको चिनो” स्वरूप सम्मानित गरियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीले गर्नुभयो। उहाँले सम्बोधन गर्दै विद्यालयलाई व्यक्तित्व विकास र नैतिक मूल्यहरूको प्रशिक्षणस्थलको रूपमा परिभाषित गर्दै शपथ लिएका विद्यार्थीहरूलाई भोलिका उत्तरदायी नागरिकका रूपमा सम्बोधन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा शपथ कार्यक्रम सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता तथा नेपाल इनोभेट सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई सहभागी थिए।
साथै, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी प्रकाश कुमार उपाध्याय, वरिष्ठ सल्लाहकार इमामुद्दीन अहमद, केन्द्रीय सदस्य छेडुप लामा, सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख श्याम कुमार बस्नेत, मानव सेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रशासन प्रमुख अशोक सङौलाले गर्नुभएको थियो। विद्यार्थीहरूले मार्च पास तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत गरेका थिए।
विद्यालयले शैक्षिक गुणस्तरका साथै सामाजिक र नैतिक शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको सन्देशका साथ कार्यक्रमको समापन गरिएको थियो।


