Lucky-Khabar_

रास्वपा पर्साद्वारा समानुपातिक सांसदका लागि आवेदन खुला, मंसिर २५ अन्तिम मिति

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु भएको औपचारिक घोषणा गरेको छ। उक्त जानकारी पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे।

content ad p2

पन्तका अनुसार उम्मेदवार चयन प्रणालीलाई पारदर्शी, वैज्ञानिक, समावेशी र योग्यतामा आधारित बनाउन पार्टी केन्द्रीय समितिले विस्तृत मापदण्ड तयार पारेको छ। उनकाे भनाइमा पार्टीमा जिम्मेवारी सम्हालेको अनुभव, नेतृत्व क्षमता, राजनीतिक संलग्नता, समावेशीता तथा प्राथमिक निर्वाचनजस्ता सूचकलाई छनोटको मुख्य आधार बनाइनेछ।

उम्मेदवारका लागि कानुनअनुसार योग्य हुनु, प्रहरी प्रतिवेदन स्पष्ट हुनु, कुनै कालोसूचीमा नपरेको प्रमाणित गर्न सक्नु, पारिवारिक आधारभूत दायित्व पूरा गरिएको हुनु, पारदर्शी आम्दानी स्रोत देखाउन सक्ने, सम्पत्ति विवरण पेश गर्ने, तथा वरिष्ठ नेतृत्व र अनुशासन समितिबाट निर्कुशन भएको जस्ता नौ प्रमुख मापदण्ड पूरा गर्नुपर्ने पन्तले बताए।

“नेपालको स्वाधीनता, राष्ट्रिय एकता, सुशासन, स्थायी शान्ति र समृद्धि हाम्रो मुख्य ध्येय हो। फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र रूपमा अघि बढाइएको छ,” पन्तले कार्यक्रममा उल्लेख गरे।

कार्यक्रममा केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद कुमार, शिक्षा विभाग प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, सह–सचिव कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेश सञ्चार प्रमुख राम सर्राफ, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, रामसुन्दर आर्य, मनोज कुर्मी सहित विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।

रास्वपाले सामाजिक न्याय, सुशासन, आर्थिक वृद्धि, रोजगारी सिर्जना र उत्पादनमुखी समाज निर्माणको लक्ष्यसहित योग्य, इमानदार र सक्षम व्यक्तिहरूबाट उम्मेदवारी आवेदन आमन्त्रण गरेको छ।

इच्छुकले मंसिर २५ सम्म पार्टीको आधिकारिक वेबसाइट www.rspnepal.orgमार्फत वा जिल्ला कार्यालयमार्फत आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर