वीरगञ्ज । उद्यमीहरूको सक्रिय सहभागितामा सुशासन र जवाफदेहिताको सन्देश प्रवाह गर्ने उद्देश्यले वीरगञ्जमा पहिलो पटक ‘उद्यमी वाकाथन’ कार्यक्रम सम्पन्न भएको छ। Nepalese Young Entrepreneurs’ Forum (एनवाईईएफ) वीरगञ्ज च्याप्टरको आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममा उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।

वाकाथन वीरगञ्जको ऐतिहासिक Gahawamai Temple बाट सुरु भई आदर्शनगर, अलखिया मठ, पानीटंकी, Thakur Ram Multiple Campus, पशुपति घोष, Laxmi Sunrise Bank, घडिअर्वा हुँदै पुनः गहवामाई मन्दिरमै पुगेर सम्पन्न भएको थियो। करिब तीन किलोमिटरको पैदल यात्रामा सहभागीहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा ऐक्यबद्धता जनाएका थिए।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ एमडी इमरान अन्सारी प्रथम, सौरभ केडिया द्वितीय र श्रीराम गिरी तृतीय स्थानमा रहे। महिलातर्फ निक्की कुमारी प्रथम, स्वाती धनोटिया द्वितीय तथा नूतन सरावगी तृतीय स्थान हासिल गर्न सफल भए। बालबालिका समूहमा दिव्यांश दारूमा प्रथम, सिद्धान्त चाचान द्वितीय र जयश गुप्ता तृतीय भए।
कार्यक्रम संयोजक तथा एनवाईईएफका कार्यकारी सदस्य मोहित अग्रवालले वीरगञ्जमा पहिलो पटक उद्यमीहरूको पहलमा यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै यसले उद्यमी समुदायलाई सुशासन र जिम्मेवार आर्थिक वातावरणका विषयमा एकजुट गराउने विश्वास व्यक्त गरे।
मञ्चका अध्यक्ष विश्वास साहले उद्यमीहरू केवल व्यवसाय सञ्चालन गर्ने व्यक्तिमात्र नभई आर्थिक विकासका महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र सकारात्मक व्यावसायिक वातावरण निर्माणका लागि उद्यमी समुदायले सामूहिक रूपमा आवाज उठाउन आवश्यक रहेको बताए।
वाकाथनका विजेताहरूलाई मञ्चका पूर्व अध्यक्ष अनुप अग्रवाल, राकेश साह, निवर्तमान अध्यक्ष पंकज अग्रवाल तथा द्वितीय उपाध्यक्ष मोहित गुप्तालगायतले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा वरिष्ठ उद्योगी तथा साहित्यकार गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजयकुमार सरावगी, Federation of Nepali Journalists पर्साका अध्यक्ष ओमप्रकाश खनाल तथा पर्सा जिल्लाका एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतको उपस्थिति रहेको थियो।


